काठमाडौं । उपभोक्ता मुद्रास्फीति (महँगी) ५ प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी उक्लिएको देखिएको हो । गत वर्षको पुस महिनामा महँगी ५.२६ प्रतिशत रहेकोमा यस वर्षको पुसमा ५.४१ प्रतिशत रहेको छ ।
पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मुद्रास्फीति बढेको छ ।
पुस २०८० मा खाद्य तथा पेय पदार्थमा ५.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.९३ प्रतिशत मुद्राीफीति थियो ।
पुसमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घिउ तथा तेल १०.६७ प्रतिशत, दाल तथा गेडागुडी ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ ।
त्यस्तै मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।








प्रतिक्रिया