५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चावहिल घटनाः टिकटिके मोबाइल खोसाखोस, झडपमा युवकको मृत्यु



काठमाडौं । चोरीको मोवाइलका विषयमा दुई समूहबीच झडप हुँदा काठमाडौंमा एक युवकको हत्या भएको छ । चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुई समूहबीच ग्याङफाइटको सूचना बिहान ६ः५ मा प्रहरीको कन्ट्रोलरुममा पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो । प्रहरीले दुईजना घाइते युवाहरुलाई उद्दार गरेर अस्पताल लग्यो, जसमध्ये संघर्ष कार्की अचेत थिए ।

केएमसी अस्पताल पुर्याउनासाथ कार्कीलाई डाक्टरहरुले मृत घोषणा गरे । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो । मृतक कार्कीको स्थाइ ठेगाना काभ्रेपलाञ्चोकको धुलिखेल–९ पानीट्याङ्कीमा भइ हाल गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीमा बद्यै आएको खुलेको छ ।

अर्का घाइते १६ वर्षिय क्षितिज कार्कीको हात, पिठ्यू र तिघ्रामा चोट लागेको थियो । केएमसीले उनलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गर्यो । उनलाई सोही राति ९ बजे अस्पतालबाट डिस्चार्ज गरी हाल गौशालाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाटै प्रहरीले दुई जना आरोपीहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमा दोलखाको जिरी नगरपालिका १ स्थाइ घर भई हाल कपनको सिमलटार बस्ने २२ वर्षिय युनिक लामा भनिने नुर्बु शेर्पा र सिन्धुपाल्चोक बाह्रविसे–८ घर भइ हाल गोकर्णेश्वर–८ बस्ने २० वर्षिय विशाल तामाङ रहेका छन् ।

उनीहरुलाई घटनास्थलबाट भाग्ने प्रयास गर्दा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरिक्षक अपील राज बोहराले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बोहराका अनुसार एउटा समूहले टिकटिके मोबाइल चोरेको अर्को समूहले देखेपछि खोसाखोस भएको थियो ।

पक्राउ परेकामध्ये युनिक लामा पाँच पटक अभद्र व्यवहारमा पक्राउ परेको र अर्का विशाल तामाङ दुईपटक चोरीको मुद्दामा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको छ । घटनाका एकजना आरोपी अहिले पनि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

झडपमा संलग्न दुवै समूहमा काठमाडाैंमा माेबाइल, ल्यापटप चाेरीमा सक्रिय रहेकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।