काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ ।
बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बताए ।
‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नु भएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ ।
काठमाडौँ टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि विदामा बसेका थिए ।
त्यसपछि पनि आफू कार्यालय जान खोज्दा मेयर शाहका सचिवालयका कर्मचारीहरूले बारम्बार अवरोध गर्दै आएको भन्दै गुरागाईंले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका थिए । काठमाडौँ टावरको विवाद अहिले उत्कर्षमा छ ।
यो टावर निर्माण गर्ने नक्सा पासको विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौँ महानगरपालिका छिर्न रोक लगाइएको छ । सुरूमा, गत पुस ५ गते उनलाई मेयर बालेन शाहको सचिवालयले सात दिन बिदामा बस्न भनेको थियो । त्यसपछि कार्यालय जान खोज्दा उनको कार्यकक्षमा ताला लगाइदिएपछि गुरागाईं महानगर जान सकेका छैनन् ।
दुई महिनादेखि काठमाडौँ महानगरले कायममुकायम प्रमुख प्रशासकीय अधिकृतका भरमा काम गरिरहेको छ ।







प्रतिक्रिया