१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र



काठमाडौँ

अहिले विवाहमा खुवाइने भोजको शैली परिवर्तन भइसकेको छ । पछिल्लो समय पार्टी प्यालेसमा विभिन्न मिष्ठान्न भोल खुवाउने परम्परा सुरु भएको छ ।
केही समयअघि नेपाली ग्रामीण समुदायमा प्रचलित जन्ते बाख्रो खुवाउने परम्परामा आधारित रहेर निर्देशक सिमोश सुनुवारले चलचित्र ‘जन्ते बाख्रो’ निर्माण गरेका छन् ।

चलचित्रमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज र चलनलाई प्रस्तुत गरिएको निर्देशक सुनुवारले जानकारी दिएका छन् । “भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । यो प्रचलनसँग जोडिएर चलचित्रको विषयवस्तु अगाडि बढेको छ ।” निर्देशक सुनुवारले भने ।

उनले चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गर्नाका साथै यसलाई नयाँ पुस्ताका लागि जानकारी हुने बताएका छन् । चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेख्नुभएको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गर्नुभएको हो । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुनेछ ।

देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।