काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट करिब ५ किलो ३० ग्राम गाँजा जस्तो देखिने अवैध लागूऔषधसहित एक भारतीय नागरिक मंगलबार दिउँसो पक्राउ परेका छन्।
थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका ३१ वर्षीय MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL लाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेज चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। जाँचको क्रममा उनको लगेजभित्र लुकाइछिपाई ल्याइएको लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।
बुढानीलकण्ठबाट पनि लागूऔषधसहित दुई जना पक्राउ
मंगलबार दिउँसो काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३, फुलबारी मार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानीलकण्ठ-३ बस्ने ३४ वर्षीय हरिवोल खड्का र काठमाडौं महानगरपालिका–८ गौशाला बस्ने, गोरखा घर भएका ३० वर्षीय राजन लामा छन्। प्रहरीले उनीहरूको साथबाट फेनारगन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र आईपीपिएल १०० एम्पुल बरामद गरेको छ।
साथै उनीहरूबाट नगद ५२,१९० रुपैयाँ, दुई थान मोबाइल फोन र उनीहरूले प्रयोग गर्दै आएको बा.प्र.०२-०५६ प ५६५० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी प्रभाग बुढानीलकण्ठले जनाएको छ।








प्रतिक्रिया