२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अब धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक बिदामा पनि चढ्न पाइने



काठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा अब दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला रहने भएको छ। शहरी विकास मन्त्रालयका अनुसार बिहीबार (साउन १) बाट धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहनेछ।

यसअघि धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला हुने गरेको थियो। साथै, अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ। साप्ताहिक बिदाको दिन भने परिवर्तन गरी अब शनिवारको सट्टा बुधवार धरहरा बन्द रहने व्यवस्था गरिएको छ।

२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढलेपछि पुनर्निर्माण सम्पन्न भई गत असोज ३ गते संविधान दिवसको अवसरमा परीक्षणका रूपमा धरहरा खुलाइएको थियो। त्यसपछि मंसिर ९ गतेदेखि शुल्कसहित सर्वसाधारणका लागि नियमित रूपमा खुला गरिएको हो।

धरहरा अवलोकन गर्नका लागि शुल्क यसप्रकार तोकिएको छ:

स्वदेशी नागरिक: रु. २००

सार्क राष्ट्रका पर्यटक: रु. ५००

अन्य विदेशी पर्यटक: रु. १०००

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार धरहरा सार्वजनिक बिदाको दिन तथा साँझपख खुला राख्दा अवलोकनकर्ताको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

हालसम्म धरहरा अवलोकनबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भइसकेको छ भने २ लाख ३७ हजार ६५ जनाले धरहरा चढिसकेका छन्। मंसिर ९ गतेदेखि लागू गरिएको दुई सय रुपैयाँको शुल्कभन्दा अगाडि धरहरा निःशुल्क रुपमा खुलाइएको थियो।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।