२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली औषधिको उत्पादन र बिक्री गर्ने बालाजु र सीतापाइलामा कारबाही



काठमाडौं । औषधि व्यवस्था विभागले राजधानीका विभिन्न स्थानमा अवैध रूपमा नक्कली औषधि उत्पादन तथा बिक्री वितरण गर्ने गिरोहमाथि निगरानी कडा पारेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यापक रूपमा विज्ञापन गरी अनधिकृत औषधि विक्री वितरण भइरहेको पाइएको छ।

विभागका औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार, दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधिको कारोबार भइरहेको सूचनाका आधारमा विभागले १०–१५ दिनदेखि लोकेसन ट्र्याक गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो।

उनका अनुसार, विभागले एक साता अघि बालाजुस्थित एउटा स्थानमा नक्कली औषधि उत्पादन भइरहेको सूचना पाएपछि छापा मारी औषधि उत्पादनमा प्रयोग हुने सामग्री तथा औषधिजन्य वस्तुहरू जफत गरेको छ। त्यसपछि थप अनुसन्धान गर्दै सीतापाइलामा यौन क्षमता बढाउने र मद्यपान छुटाउने भन्दै नक्कली औषधि उत्पादन तथा बिक्री वितरण हुने अर्को केन्द्रसमेत फेला परेको हो।

बज्राचार्यले भने, “हामीले बालाजुमा सिज गरेपछि अनुसन्धान गर्दा सीतापाइलामा पनि यस्तै किसिमको अवैध कार्य भइरहेको भेट्यौं। सञ्चालकहरू फरार छन्, तर सबै औषधिजन्य सामग्री विभागले जफत गरेको छ।”

उनले औषधिको दर्ता, गुणस्तर र प्रमाणिकता नपुगी कुनै औषधि खरिद नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। “औषधिको आधिकारिकता नबुझी किनमेल नगर्न अनुरोध छ,” उनले भने, “स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएकाले सचेत हुन जरुरी छ।”

विभागले नक्कली औषधिको कारोबारमा संलग्नहरूमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ। साथै, औषधि खरिद गर्दा अनुमोदित फार्मेसी र दर्ता नम्बर जाँच गर्न जनतालाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।