२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर मितेरी सहकारी ठगी प्रकरणः मोबाइल फुटाएर प्रमाण नष्ट गर्न खोजियो



ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ ठगी प्रकरणमा संलग्न ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई व्यक्तिमाथि पनि प्रहरी अनुसन्धान तीव्र पारिएको छ।

इन्टरपोलको सहयोगमा कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका भण्डारीसँग सम्पर्कमा रहेका धादिङका सुवास खत्री र बर्दियाका सुरेश अधिकारीमाथि पनि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान अघि बढाएको हो।

मोबाइल फुटाएर प्रमाण नष्ट गर्न खोजियो

सीआईबीका अनुसार, सुवास खत्री भण्डारीसँग धेरै समयदेखि ठगीसम्बन्धी कारोबार र संवादमा थिए। प्रहरीले उनलाई अनामनगरबाट पक्राउ गर्ने क्रममा उनले आफ्नो आइफोन १६ फुटाएर प्रमाण नष्ट गर्न खोजेका थिए।

ब्युरो स्रोतका अनुसार, मोबाइलमा ठगी सम्बन्धी महत्त्वपूर्ण डिजिटल प्रमाण रहेको आशंकामा सो उपकरण मर्मतपछि डिजिटल फरेन्सिक ल्याबमा पठाइए पनि डेटा रिकभर हुन नसकेको बताइएको छ।

हुन्डीमार्फत रकम पठाउने सुराकी

भण्डारी विदेशमा रहँदा खत्रीले ठगीबाट संकलित रकम हुन्डीमार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसले उनीहरूबीच संगठित अपराधको रूपमै कार्य भएको पुष्टि गर्दैछ।

सुरेश अधिकारी र भण्डारीबीच पारिवारिक सम्बन्ध

पक्राउ परेका अर्का आरोपी सुरेश अधिकारी भण्डारीकै पारिवारिक सदस्य हुन्। उनीहरूलाई समेत सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान चलिरहेको ब्युरोले जनाएको छ।

सहकारी सदस्यहरूलाई ठग्न ‘पार्सल’को नाटक

भण्डारीले थाइल्यान्डमा रहँदा सहकारीका पदाधिकारीहरूलाई ग्लोबल आइएमई बैंकमा ३३ करोड ११ लाख पार्सल पठाएको नाटक गरे। त्यसैको आधारमा सहकारीका सचिव कृष्ण रानालाई कमिसन तिर्नुपर्ने बहानामा ३ करोड ४४ लाख रुपैयाँ ठगिएको हो।

यस षड्यन्त्रमा सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले भण्डारीलाई पदाधिकारीहरूसँग सम्पर्क गराइदिएको प्रमाणित भएको छ। अहिले गुरुङ फरार छन्।

पासपोर्ट र नागरिकता किर्ते

भण्डारीले दुई फरक नागरिकता नम्बर प्रयोग गरी दुई पासपोर्ट बनाएको फेला परेको छ।

पासपोर्ट नम्बर १०५४८६८८ मा नागरिकता नम्बर १५८८३, जन्मस्थान कास्की।

पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३, जन्मस्थान बर्दिया।

फरक नाम र विवरण प्रयोग गरी फेसबुक र ह्वाट्स एपमार्फत ठगी अभियान सञ्चालन गरिएको प्रमाण समेत प्रहरीले फेला पारेको छ।

कांग्रेस उप–सभापति धनराज गुरुङसँग पनि अनुसन्धान

यस प्रकरणमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङसँग पनि बयान लिइएको छ। उनी फरार महाप्रबन्धक ज्योति गुरुङका पूर्वपति हुन्।

 

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।