काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गर्ने अभियोगमा पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जर्मनी, जर्जिया, ग्रीस र कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने समूहमा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेहरू साजन गुरुङ, टोखा–९ बसोबास, लमजुङ दुधपोखरी–४ घर, दीपक थापा, महालक्ष्मी–८ बसोबास, रुपन्देही तिलोत्तमा–१ घर, टेकबहादुर केसी, कागेश्वरी मनोहरा–५ बसोबास, दाङ घोराही–१५ घर, भरतप्रसाद पाण्डे, ललितपुर–२३ बसोबास, स्याङ्जा वालिङ–७ घर, प्रेमप्रसाद भुसाल, मध्यपुर थिमी–३ बसोबास, पर्वत विहादी–४ घर रहेका छन्।
प्रहरीका अनुसार साजन गुरुङले जर्मनी पठाइदिन्छु भन्दै १२ लाख ८० हजार, दीपक थापाले जर्जिया पठाइदिन्छु भन्दै ३ जनाबाट ६ लाख, टेकबहादुर केसीले ग्रीस पठाइदिन्छु भन्दै ६ जनाबाट २१ लाख, भरत पाण्डेले कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट २० लाख, प्रेम भुसालले कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।
ठगीपछि सम्पर्कविहीन भएका उनीहरूलाई प्रहरी टोलीले बुधबार र बिहीबार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकामाथि वैदेशिक रोजगार सम्बन्धी ऐन अन्तर्गत आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया