२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थानकोटस्थित त्रिभुवन ‘पार्क’ झन् आकर्षक बनाइँदै 



काठमाडौँ
चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन धमाधम काम अगाडि बढाएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु तीन करोडभन्दा बढीका लागतमा त्रिभुवन पार्कलाई थप आकर्षित बनाउन विभिन्न काम जारी रहेको जानकारी दिएका छन् ।
पार्कमा हाल वनभोजस्थल, बालउद्यान, बगैँचा, ऐतिहासिक सत्तलर पाटी, ढुङ्गेधारा, पोखरीलगायत जीर्णोद्धार, पुनःनिर्माण तथा गाई, हात्ती, गैँडालगायत जनावर साथै विभिन्न पक्षीका आकर्षक नयाँ मूर्ति पार्कका मध्यभागमा राखिएका छन् ।
बालबालिकालाई रमाउन र खेल्न विभिन्न सामग्रीसमेत पार्कभित्र राखिएका छन् । विशेषगरी सार्वजनिक बिदाका दिन पार्कमा घुम्न, आराम गर्न, भलाकुसारी गर्न र वनभोज खान आउनेहरुको भीड लाग्ने गर्दछ ।
यसका लागि पहिलो चरणमा समपूरक अनुदान रु तीन करोडभन्दा बढीको लागतमा काम भइराखेको र बाँकी अन्य थप सुधार गर्नका लागि नगरपालिकाबाट पुनः थप रु तीन करोड रकमको सुनिश्चितता भएको नगरपालिकाका मेयर घनश्याम गिरीले बताएका छन् ।
नगरपालिकाले नगरभित्रका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व, जात्रालाई जीवन्त राख्न, संरक्षण गर्न एवं जीर्णोद्धार गर्न उच्च प्राथमिकताका साथ काम गर्दै आएको उनले जानकारी दिएका छन् । त्रिभुवन पार्कको संरक्षणमा सङ्घीय एवं प्रदेश सरकारले खासै चासो नदिएपछि नगरपालिकाले उच्च प्राथमिकता दिँदै संरक्षणमा बजेट विनियोजन गरेर धमाधम काम गरेको हो ।
यसैबीच नगरप्रमुख गिरीले पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुनःनिर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणको हालै अनुगमन गर्नुहुँदै निर्धारित समयभित्र काम सक्न कामको जिम्मेवारी लिएका पक्षलाई निर्देश गरेका छन् । “यो काम नगरपालिका र मेरो व्यक्तिगत प्रतिष्ठासित पनि गाँसिएका हुँदा निर्धारित समयभित्र गुणस्तरीय काम गरेर पार्कमा घुम्न आउनेलाई आहा १ पार्क हुनु त यस्तो पो बनाउनु पर्छ” उनले भने ।
तत्कालीन राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशवशम्शेर जबराका अध्यक्षतामा गठित उक्त समितिमा नौ सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं २०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क सुरुआतका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।
पार्कको चहलपहल बढ्न थालेपछि समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको सालिक र भैरवनाथको मन्दिरसमेत रहेको छ । विसं २०७२ वैशाखको विनाशकारी  भूकम्पले त्रिभुवनकोे सालिक पोखरी नजिकै छेउमा ढलाएकोे थियो । धेरै समयपछि सालिक मर्मत गरेर ठड्याउने काम भएको थियो । विसं २०३०र३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको शुभारम्भ तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।