काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा बोर्डले साउन १ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लामा ‘रेफरल प्रणाली’अनुसार नयाँ प्रथम सेवा बिन्दु तोकेपछि धुलिखेल अस्पताललाई सूचीबाट हटाइएको छ। उक्त निर्णयसँगै स्वास्थ्य सेवा लिन नागरिकलाई ठूलो सास्ती पर्न थालेको छ।
प्रथम सेवा बिन्दुमा तोकिएका पाँच सरकारी स्वास्थ्य संस्थामध्ये दुई (धुलिखेल र पाँचखाल पीएचसी) ले चिकित्सक अभाव र पूर्वाधारको कमीका कारण नियमित सेवा दिन सकेका छैनन्। यसले गर्दा पनौती, खोपासी, सुन्थान र मेथिनकोटमा चाप अत्यधिक बढेको छ।
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले सेवा दिन नसक्ने भन्दै दैनिक ४० जनालाई मात्र रेफरल दिने सूचना जारी गरेको छ। केन्द्रका निमित्त प्रमुख डा. प्रज्वल लुइँटेलका अनुसार जनशक्ति अभावकै कारण बीमा सेवामा गम्भीर समस्या देखिएको हो।
यही सन्दर्भमा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ। टोलीले २०८२ असार मसान्तसम्म बीमा सेवा दिँदै आएको धुलिखेल अस्पताललाई पुनः प्रथम सेवा बिन्दुमा राख्न माग गरेको हो।
ध्यानाकर्षणपत्रमा भनिएको छ,’धुलिखेल अस्पतालको सेवा हटाउँदा काभ्रे र आसपासका जिल्लासहित पूर्वी तराईसम्मका करिब तीन लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।’ टोलीले धुलिखेल पीएचसीमा आवश्यक भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था मिलाएर यथाशीघ्र सेवा पुनः सुरु गर्न आग्रह गरेको छ।
मन्त्री पौडेलले जवाफमा स्वास्थ्य बीमा प्रणाली सुदृढ गर्नका लागि सामुदायिक र सरकारी अस्पताललाई प्राथमिकता दिएको र रेफरल सेवाअन्तर्गत विशेषज्ञ सेवा प्रवाह गर्ने नीति लिइएको जानकारी दिए। उनले संविधानअनुसार आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको जिम्मेवारी भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा अग्रसरता देखाउनुपर्ने पनि बताए।








प्रतिक्रिया