काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको भेडेटार स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिक सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार गरिएको थियो। मकवानपुर स्थायी घर भई हाल गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल बस्ने २७ वर्षीय थोकरलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाइएको हो।
प्रहरीका अनुसार घटना भएको जानकारीपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको सादा पोशाकको टोलीले अनुसन्धान गर्दै जाँदा दुईजनालाई पक्राउ गरिएको हो। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी हाल वीर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रवक्ता चन्दले जानकारी दिए।








प्रतिक्रिया