२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मौलिक शैलीमा ‘साँःपारु’ मनाउँदै भक्तपुरका नेवार समुदाय



काठमाडौं । वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै ख्यालठट्टा, हाँस्यव्यङङ्ग्यसहित भक्तपुरका नेवार समुदायले आज धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाइँदैछ ।

भिन्न र मौलिक शैलीमा मनाइने भक्तपुरको गाईजात्रालाई आँसु र हाँसोको सङ्गम जात्राका साथै दुःख, पीडा, शोकलाई हाँसोमा परिवर्तन गर्ने जात्राको सन्देश दिने पर्वका रूपमा लिइन्छ ।

यस दिन साँ (गाई) निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुने परम्परा छ । अर्कातर्फ ख्यालठट्टा, हाँस्यव्यङ्ग्य, धार्मिक तथा सांस्कृति रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने शिव पार्वती, भैरव, देवी, राधाकृष्ण, रामायणलगायत नाचसहित नगर परिक्रमा गरी साँःपारु मनाइन्छ । त्यसैले उपत्यकालगायत बाहिरी जिल्ला र विदेशीहरू गाईजात्रा हेर्न हजारौँका सङ्ख्यामा दर्शकहरु आउने गर्छन् ।

जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा औपचारिक रूपमा गाईजात्रा सुरु गरिन्छ ।

जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा मनाइन्छ । यस दिन मृतकको सम्झनामा गाई निकाल्नुअघि सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाई निकाल्ने परम्परा छ । भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासाँ (तहामचा) हो । घिन्ताङघिसीसँगै ताहासाँलाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने धार्मिक विश्वास रहेको छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, धाँ बाजाको संयुक्त ताल र लयमा एकहात लामो गोलाकार लट्ठी एकापसमा जुधाएर नाचिन्छ । घिन्ताङघिसी समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धहरूसमेत सहभागी हुन्छन् ।

करिब १५ फिट लामो चारवटा हरियो बाँसबाट ताहासाँ बनाइन्छ । बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासाँ बनाइन्छ । ताहासाँको शिरमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपालजस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा(रङ्गीनमाथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ ।

त्यसपछि गाईको चित्र राखी द्योःगाचा (अष्टमातृकाको प्रतीक खास्तो), दुईवटा पटुका बाँधिन्छ । सिङमाथि छाता ओढाउँछन् । ताहासाँ महिला र पुरुषको सङ्केत जनाउन हाकुपटासी, सारी र सेतो कपडाले बेरेर बीचमा जामाचा लगाई अगाडि पछाडि मृतकको तस्बिर, भगवान्को तस्बिर ऐना र रुमाल राखिन्छ ।

गाईजात्रामा कुमाले समुदायले मृतकका नाममा कालोमाटोको गाई बनाएर नगरपरिक्रमा गराइन्छ । उनीहरूको आफ्नो मौलिक पुख्र्यौली पेसाअनुसार माटोको आकर्षक गाई बनाएर नगरपरिक्रमा गराइने संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताउनुभयो । गाईजात्रामा मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीतिलीला, रामायण र श्रीकृष्णा लीला प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, राधाकृष्णको रूपमा शृङ्गारी बाँसुरी बाजाका साथ वासा लुइके गरेर प्रदर्शन गरिन्छ ।

गाई निकाल्नुअघि ताहासाँ, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरीहरू र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यसबेला मृतकका घरपरिवारका महिला सदस्यहरू रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु मृतकप्रतिको सम्मानको रूपमा लिइन्छ । सगुन पूजा सकेपछि सानो काँचो केराउ, नासपाती, काँक्रोलगायत फलफूल र दही, चिउरा टोल छरछिमेकमा बाहिर बाँडिन्छ । बाँसको नोल लगाएर ताहासाँलाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगरपरिक्रमा गराइन्छ । परिक्रमा गराउँदा ताहासाँमा मृतकको तस्बिरलाई हेरेर कसको ताहासाँ निकालेको थाहा पाउँछ ।

परिक्रमा गर्दा किरियापुत्री, छोरीहरू, मृतकका परिवार, आफन्तले हातमा सुगन्धित धूप बालेर जाने परम्परा छ । गाईलाई परिक्रमा गराउँदा मृतकका परिवार र स्थानीयले आफ्नो गच्छेअनुसार मालपुवा, पुरी, फलफूल, बिस्कुट, दक्षिणा, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिनेगरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने सारी, हाकुपटासीसहितको ताहासाँ र पुरुष हो भने सेतो कपडाको ताहासाँ नगरपरिक्रमा गराइन्छ । गर्भवती महिला भयो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासाँमा तल अर्को सिङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राका दिन विधिवत रूपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्नुका साथै मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिक विश्वासले गाईजात्रा निकाल्ने गरिएको हो ।

गाईजात्रामा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासाँ निकालेपछि साँःपारु सम्पन्न गर्ने परम्परा छ । भैरवको ताहासाँ ल्याउँदा लाकोलाछे टोलमा वर्ष दिन दिवङ्गत भएका सबैको ताहासाँ भैरवको ताहासाँसँगै लानुपर्ने परम्परा छ । भैरवनाथको ताहासाँलाई नगरपरिक्रमा गराउँदा तमारी, लायकु दरबार र तचपालमा तीन–तीनपटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासाँ चुपिङघाटस्थित पुलमा लगेर बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म मनाइन्छ । प्रतिपदाको दिन मुख्य रूपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर स्थानीयलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवताहरू दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खटजात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, कवांचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायत नाच प्रदर्शन गरिन्छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलनको सुरुआत भएको मानिन्छ । यत्तिले रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टा प्रदर्शन गर्न राजाले आदेश दिएअनुसार गाईजात्रामा हाँस्यव्यङ्ग्य प्रदर्शन गरिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।