काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिए।
घटना काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको अन्त्येष्टि प्रक्रियाकै क्रममा भएको हो। मृतकका आफन्तले ती ब्राह्मणमाथि शवबाट मासु र हड्डी निकालेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। यद्यपि आफन्तहरूले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने व्यक्ति को हुन् वा कति रकममा बेचिएको हो भन्नेबारे स्पष्ट प्रमाण नखुलेको र आरोप तत्काल पुष्टि हुने अवस्था नरहेको प्रहरीको भनाइ छ।








प्रतिक्रिया