काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै आफ्नो सरकारलाई पूर्णता दिएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाली काँग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री बानियाँले आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेल, र युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाललाई मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री बानियाँ २० साउनमा नियुक्त भएका थिए र सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। कांग्रेसबाट पहिले खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरी धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्र मन्त्रालयको भागबण्डा अनुसार अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
यसअघि लामा पक्षका तीन सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री बनाउने पूर्वसहमति भएको थियो। सभापति शेरबहादुर देउवा, मुख्यमन्त्री बानियाँ र लामाबीच यसबारे सहमति भएको थियो। यही सहमतिका आधारमा बहादुर पक्षले २७ साउनको प्रदेशसभा बैठकमा उपस्थित भई विश्वासको मत दिएका थिए।








प्रतिक्रिया