काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक र नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरू र उच्चपदस्थ विद्यालयहरू संलग्न रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ।
बुधबार पत्रकार सम्मेलनमा प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले उपत्यकामा एक लाख रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको जानकारी दिए। उनले धोबी खोलामा मात्र २०२१, २०४४ र २०५६ को नापीअनुसार २ सय रोपनी जग्गा अतिक्रमणमा परेको बताए।
तीन चरणको नापी अध्ययनअनुसार नदी किनारका ३ हजार रोपनी जग्गा अतिक्रमणमा रहेको र ती जग्गाहरू केही व्यक्तिहरूले आफ्नो नाममा दर्ता गराइसकेको उनले जानकारी गराए। तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्न सक्ने जग्गा अतिक्रमणमा परेको र ती कब्जा उच्चपदस्थ व्यक्ति, नाम चलेका स्कुल तथा ठूला व्यक्तिहरूले गरेको उनले बताए।
बस्नेतले सार्वजनिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरिएको र प्राधिकरणलाई यसको अधिकार रहेको पनि जानकारी दिए। उनले माधव खोलामा सार्वजनिक जग्गा मिचेर कम्पाउण्ड भित्र लगेकाहरूको सम्पत्ति रोक्का गरिसकेको र चैत ३ गतेदेखि अवैध प्लटिङ र कित्ताकाट रोक्का गरिएको बताए। हालसम्म १,१५० कित्ता अवैध प्लटिङ रोक्का गरिएको छ।








प्रतिक्रिया