काठमाडौं । काठमाडौं सुन्धारास्थित सिभिल मलको एउटा खेलौना पसलमा प्रहरीले खानतलासी गरेको छ। प्रहरी वृत्त जनसेवाको टोलीले बिहीबार मलको पाँचौं तलामा रहेको द टोय स्टोर मा खानतलासी गरेको हो।
काठमाडौं प्रहरीका अनुसार सो स्टोरमा सक्कलीजस्तै देखिने नक्कली हतियार बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको हो। उक्त स्टोर धादिङको नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौं बसुन्धारामा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गर्दै आएकी थिइन्।
खानतलासीका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पसलमा रहेका युवकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा परेका काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं कलंकी बस्ने ३१ वर्षीय सुरज मगरमाथि महिला प्रहरीसहितको टोलीलाई अभद्र व्यवहार गर्दै प्रहरीको काममा अवरोध गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले खेलौना पसलबाट विभिन्न कम्पनीको नाम उल्लेख भएका सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियार समेत बरामद गरेको छ।








प्रतिक्रिया