२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रोकिएको धुलिखेल–सूर्यविनायक सडक विस्तार कार्य सुरु



काठमाडौं । वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डको स्तरोन्नतिको काम पुनः सुरु भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजना जनाएको छ।

सडक पिच गर्नका लागि ‘सिटिबी’ को काम सूर्यबिनायक–धुलिखेल तथा धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले सञ्चालन गरिरहेको छ। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागालबाट भैँसेपाटी हुँदै साँगा क्षेत्रतर्फ सिटिबीको काम सुरु गरिएको छ। असार र साउन महिनामा मनसुनका कारण काम रोकिएको थियो।

बनेपाको पुलबजार क्षेत्रमा करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण सडक विस्तारको काम ठप्प अवस्थामा रहेको छ। करिब २०० मिटर क्षेत्रमा सेन्टरलाइन विवादको कारण निर्माण कार्य रोकिएको हो। स्थानीयले सेन्टरलाइनबाट दायाँ–बायाँ ७५/७५ फिट (कुल १५० फिट) मध्ये १४० फिटमा काम भइरहेकामा दुवै तर्फ घरमा बराबर छुट्याउनुपर्ने माग राखेका थिए।

विभिन्न निकायले अवरोध हटाउन प्रयास गरे पनि समस्या समाधान भएको छैन। हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडक ढल निर्माण कार्य भइरहेको छ।

सूर्यबिनायक–धुलिखेल सडकखण्डका अन्य स्थानमा छोटो खण्ड–खण्डमा काम भइरहेको छ। धुलिखेल क्षेत्रमा कामले गति लिइरहेको र करिब एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ। केही दिनभित्र सडक कालोपत्रको तयारी हुनेछ।

धुलिखेलको २८ किलोमिटर क्षेत्रमा एक घर हटाउन र केही स्थानमा विद्युतको हाइटेन्सन लाइन पोल सार्न बाँकी छ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यबिनायकदेखि धुलिखेलसम्मको छ लेन सडक विस्तार कार्य समयमा नसकिने देखिएको छ। आयोजनाले बाँकी करिब पाँच महिनाको अवधिमा काम नसकिने जानकारी दिएको छ।

विसं २०७९ पुस २४ बाट सुरु भएको १६ किलोमिटर लम्बाइको सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सडकखण्ड दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको छ।

सूर्यबिनायक–साँगा खण्ड: ३७% काम सम्पन्न

साँगा–धुलिखेल खण्ड: ५०% काम सम्पन्न

साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुल तथा व्यक्तिगत घरको विवादले ढिलाइ भएको छ। अनुमानित ६५% भौतिक निर्माण काम समयसीमाभित्र सकिने बताइएको छ।

पहिलो चरण (साँगा–धुलिखेल)मा लागत रु ४ अर्ब ५ करोड ६४ लाख, दोस्रो चरण (सूर्यबिनायक–साँगा) रु ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता गरिएको थियो।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा सडक विस्तार थालिएको हो। यसले ट्राफिक व्यवस्थापन र यातायात सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।