काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्टका कारण आगलागी हुँदा ठूलो क्षति भएको छ। घटनामा ५० वटा बाख्रा जलेर मरेका छन् भने ६ वटा घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएपछि आगलागी शुरू भएको थियो। फार्ममा रहेका ८५ बाख्रामध्ये २९ वटालाई उद्धार गरिएको छ।
आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको र हाल चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।








प्रतिक्रिया