२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्खु कारागार प्रशासनको अपिल : फरार कैदीबन्दीलाई तुरुन्त आत्मसमर्पण गर्न आग्रह



काठमाडौं । नक्खुस्थित कारागार प्रशासनले ‘जेन–जी’ आन्दोलनको क्रममा जेलबाट बाहिरिएका सबै कैदीबन्दीलाई अविलम्ब सम्पर्कमा आउन अनुरोध गरेको छ। कारागार प्रशासनले बिहीबार सार्वजनिक अपिल जारी गर्दै कानुनी प्रक्रिया र विधिको पूर्ण परिपालना गर्न सबैलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो।

‘जेन–जी’ आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरेपछि आन्दोलित युवाहरूले नक्खु कारागार घेरेका थिए। सुरक्षाको कारण देखाउँदै गृह प्रशासनको आदेशपछि थुनुवा र कैदीलाई छोडिएको थियो।

तर अहिले फेरि प्रशासनले औपचारिक सूचना जारी गर्दै सम्पर्कमा नआएका बन्दीलाई कानुनअनुसार थप सजाय लाग्ने चेतावनी दिएको छ। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नैतिक संकटमा परेका छन्। थुनामा रहेका लामिछानेले आफूले बाहिर आउन माग नगरेको र कानुनी प्रक्रिया पूरा गरेर मात्र रिहा हुनुपर्ने अडान सार्वजनिक गर्दै आएका थिए।

कारागार प्रशासनले भने, ‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ।’

यदि तोकिएको समयभित्र सम्पर्कमा नआए थप कडाइका साथ कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार सजाय कार्यान्वयन गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।