२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपालको पहिलो महिला प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण



काठमाडौँ

नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । यसअघि उनी लामो समयसम्म वकालत गर्दै सर्वाेच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएकी थिइन् ।

न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाएकी नवनियुक्त प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका हुन् ।

राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा कार्कीलाई नियुक्ति गरेका हुन् ।

राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरिएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए ।

जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।
उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो ।

सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।