ललितपुर । जेनजी आन्दोलनका क्रममा अराजक समूहको तोडफोड र आगजनीबाट ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल भग्नावशेषमा परिणत भएको छ। करिब ८१ करोड रुपैयाँ लागतमा बनेको यो हल सञ्चालनमा आएको चार वर्षमै नष्ट भएको हो।
२०७८ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यस हललाई देशकै ठूलो कन्भेन्सन हल मानिन्थ्यो। गोदावरी नगरपालिका–३ मा ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको यो संरचनामा ३ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय स्तरको सभाहलसहित पार्किङ, हरियाली क्षेत्र र बगैँचा समेत थियो।
हल भूकम्प प्रतिरोधी, अपांगमैत्री र ध्वनी अवशोषित प्रविधियुक्त बनाइएको थियो। सभाहलमा विशिष्ट कक्ष, सहायता कक्ष, अनुवाद कक्ष जस्ता आधुनिक सुविधा रहेका थिए।
२०७६ कात्तिक ५ गते ओलीकै हातबाट शिलान्यास भएको यो भवन एमालेले दोस्रो विधान अधिवेशन सम्पन्न गर्ने स्थलसमेत बनेको थियो। तर भदौ २४ मा उग्र बनेको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले भवनको सम्पूर्ण संरचना ध्वस्त बनाइदिएका छन्।
सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक क्षति पुर्याउने क्रममा आन्दोलनकारीले कन्भेन्सन हललाई लक्षित गरेपछि अहिले यो भवन पूर्ण रूपमा प्रयोगविहीन बनेको छ। स्थानीयवासीले हल ध्वस्त भएपछि ठूलो आर्थिक र सामाजिक क्षति पुगेको बताउँदै दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्।








प्रतिक्रिया