२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएर भवन तथा संरचना क्षतिग्रस्त भएपछि आज (असोज २)देखि पालमुनि इजलास सञ्चालन गरिएको छ।

सर्वोच्च अदालतको प्रवेशद्वारदेखि नै जलेका भवन स्पष्ट देखिन्छ। अगाडि सवारीसाधनको थुप्रो छ भने आधा जलेका टेबल–कुर्सी असरल्ल छन्। यही अवशेषको छेउमा पाल टाँगेर अस्थायी अदालत सञ्चालन गरिएको हो।

सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम परिस्थिति भए पनि इजलास बस्ने निर्णय गरेपछि पालमुनि नै सुनुवाइ सुरु गरिएको हो। आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र न्यायाधीश कुमार रेग्मीको इजलासमा दुईवटा बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमाथि सुनुवाइ गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन। त्यसैले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ पालमुनिबाटै सुरु गरिएको हो।”

भदौ ३१ गते दर्ता भएका दुईवटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ प्रारम्भ गरिएको हो। कोइरालाले आगजनीका कारण सूचना प्रविधिका उपकरण र सवारीसाधन ठूलो मात्रामा क्षति भएको बताउँदै २३ वटा अदालत भवनमा आंशिक वा पूर्ण क्षति भएको जानकारी दिए।

भवनसँगै अदालतका मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन्। पूर्ण रूपमा क्षति भएका अदालतका मिसिल हराएका छन् भने आंशिक क्षतिमा केही मिसिल बाँकी रहेको प्रवक्ता कोइरालाले बताए। उनका अनुसार, सर्वोच्च अदालतको पूर्ण बैठकले नष्ट भएका मिसिल पुनःव्यवस्थापनका लागि निर्देशिका बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।