काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वको अवसरमा देशभर शान्ति र सुरक्षा सुनिश्चित गर्न करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, सुरक्षा युनिटहरूले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेका छन्। “भयरहित वातावरणमा चाडपर्व मनाउन, शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँगको हातेमालोमा तयारी गरेका छौं। सम्भावित जोखिम क्षेत्रको पहिचान गरी निगरानी बढाइएको छ,” उनले बताए।
प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछन्। काठमाडौं उपत्यकामा मात्रै ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकतानुसार थप जनशक्ति खटाउने तयारी गरिएको छ।
प्रहरीका अनुसार विशेष निगरानी मुख्यतया सवारीसाधनको आवागमन सहज बनाउने, चाडपर्वमा हुने जमघट र भेला, मदिरा सेवन गरेर झगडा वा होहल्ला गर्ने, चोरी–तस्करीजस्ता आपराधिक गतिविधि रोक्ने, कालोबजारी नियन्त्रण र तोकिएको भाडाभन्दा बढी लिने गतिविधि रोक्न केन्द्रित गरिएको छ।








प्रतिक्रिया