२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँको १३ सय वर्ष पुरानो महाँकाल मन्दिरको पुनःनिर्माण सुरु



काठमाडौं । करिब १३ सय वर्ष पुरानो काठमाडौँको महाँकाल मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ। मुटु टुडिखेल छेउमा अवस्थित यो मन्दिर केवल काठ, इटा र ढुङ्गाको संरचना मात्र नभई नेपाली इतिहास, धार्मिक आस्था र संस्कृतिको महत्त्वपूर्ण धरोहर मानिन्छ। महाँकाल मन्दिर हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीसँग सम्बन्धित कथासँग जोडिएको सांस्कृतिक महत्वको केन्द्र हो।

लामो समयदेखि विभिन्न निकाय र स्थानीय समुदायबीच सहमति नजुट्दा पुनःनिर्माण कार्य अघि बढ्न सकेको थिएन। २०७२ सालको भुकम्पपछि मन्दिरको पुनःनिर्माण आवश्यक रहेकोमा पनि योजना कार्यान्वयनमा ढिलाइ भएको थियो। २०८०/८१ को बजेटमा यो परियोजना विनियोजित भएपछि, २०८१ असार १९ गतेदेखि आधिकारिक रूपमा पुनःनिर्माण सुरु गरिएको छ।

महाँकाल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माणमा रु १० करोड ५ लाखको लागत तय गरिएको छ र निर्माण अवधि ३ वर्ष तोकिएको छ। यस परियोजना सम्पन्न भएपछि मन्दिरको भुइँतलामा ९ वटा कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारणको सुविधा, छानामा परम्परागत बुइँगल र झिँगटी टायल राखिनेछ। साथै, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण निर्माण गरिनेछ।

संरक्षणकर्ता र निर्माणकर्ता दुवैका अनुसार यो पुनःनिर्माण केवल भौतिक संरचना निर्माण मात्र नभई नेपाली संस्कृतिको पुनर्जागरणको काम हो। पुरानो कला, परम्परा र ऐतिहासिक स्मृतिलाई जोगाउँदै नयाँ पुस्तालाई यो सांस्कृतिक धरोहर हस्तान्तरण गरिने बताइएको छ।

 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।