काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेको कान्ति लोकपथ सडकखण्ड सोमबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सिमात खोलामा खसेको ठूलो पहिरो हटाएपछि सवारीसाधनलाई आंशिक रूपमा आवागमन गर्न दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडा–काठमाडौँ आवागमन ठप्प भएको थियो। आज बिहानैदेखि पहिरो पन्छ्याउन डोजर परिचालन गरिएको थियो।
ठिंगनदेखि बगुवा खोलासम्म खसेका पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याउन सकिएको र आजै साँझसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यातायात अवरुद्ध हुँदा यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका थिए। सडक आंशिक सञ्चालनमा आएसँगै आवागमन सहज भए पनि यात्रुहरूलाई अझै सावधानी अपनाउन आग्रह गरिएको छ।








प्रतिक्रिया