काठमाडौं । शनिबारदेखि सुरु भएको तिहारका अवसरमा करिब छ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यसपटक तिहारको बिदा लामो भएकाले उपत्यका छोड्नेको सङ्ख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको हो।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यात्रुहरूको सहज आवागमनका लागि यातायात व्यवस्थापन मिलाइएको जानकारी दिए।
उनले भने, “दसैँका समयमा केही यात्रुहरूले भारी वर्षाका कारण सास्ती बेहोर्नु परेको थियो, तर यसपटक तिहारमा राजमार्गहरू सुधार भइसकेका छन्। अब यात्रुहरूलाई त्यस्तो समस्या हुनेछैन।”
त्यस्तै सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले देशभरका प्रमुख राजमार्गहरू सञ्चालनमा आइसकेका बताए।
उनका अनुसार, “दसैँका बेला बाढीपहिरोका कारण क्षतिग्रस्त मेची राजमार्गको माईखोला खण्ड पनि शनिबारदेखि सञ्चालनमा आएको छ। अब राष्ट्रिय राजमार्गहरूमा यात्रा गर्न कुनै समस्या छैन।”
यातायात व्यवसायीहरूले तिहार अवधिभर यात्रु भीड व्यवस्थापनका लागि अतिरिक्त बस सञ्चालन र अनुगमन पनि गर्ने बताएका छन्।








प्रतिक्रिया