काठमाडौं । काठमाडौंमा सुन भनी फलामको ढिक्का देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षका कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५१ वर्षका मानबहादुर सुवेदी, र ताप्लेजुङकै ४० वर्षका विरेन (राम) लिम्बु रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–६ फेदीकी ४६ वर्षीया गीता कसीलाई सुनको नाममा ठगी गर्न उक्त समूहले ११ लाख नगद र ६० लाख रूपैयाँको चेक लिई फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट टोली परिचालन गरी खोजतलास गर्दा, काठमाडौंको सुन्धारास्थित धुर्व पाटन होटेलबाट ती व्यक्तिहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूमध्ये कर्ण ध्वज लिम्बु र मानबहादुर सुवेदी यसअघि पनि ठगी मुद्दामा संलग्न भई पक्राउ परेका थिए। प्रहरीले उनीहरूको साथबाट कालो–पहेंलो लेप लगाइएका फलामका ढिक्का तीन थान, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रूपैयाँको चेक एक थान, र चार वटा सिम कार्ड बरामद गरेको छ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूको लागि आठ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाउने आदेश दिएको छ।








प्रतिक्रिया