काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व व्यवस्थित र सुरक्षित ढङ्गले मनाउनका लागि महानगरभित्रका ८ स्थान तोकेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले छठ पर्वका लागि तय गरिएका स्थानहरूको जानकारी दिएका हुन्।
उनका अनुसार छठ पर्व मनाउनका लागि कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट तोकिएको छ।
पाण्डेका अनुसार यी स्थानहरूमा महानगरले सरसफाइ अभियान सुरु गरेको छ। “३ सयभन्दा बढी सरसफाइकर्मी खटिएका छन्,” उनले बताए, “छठ पर्वको तयारीमा कुनै कमी नहोस् भनेर महानगरले आवश्यक सबै व्यवस्था मिलाएको छ।”
महानगरले छठ पर्वका नाममा ताल, पोखरी वा नदी किनारमा पैसा उठाउन निषेध गरेको छ। पाण्डेले भने, “कसैले कुनै शुल्क लिन खोजेमा तुरुन्त जानकारी दिनुहोस्, हामी कारबाही गर्छौँ।”
त्यसैगरी तोकिएका स्थानमा सवारी पार्किङ नगर्न पनि उनले अनुरोध गरे। यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ। हिन्दू महिलाहरूले सूर्यदेवताको पूजाआराधना गरी नदी वा पोखरी किनारमा व्रत बसेर मनाउने यो पर्व आस्था, शुद्धता र कृतज्ञताको प्रतीक मानिन्छ।
काठमाडौं महानगरले यस पर्वलाई सुरक्षित, स्वच्छ र सांस्कृतिक सौन्दर्ययुक्त बनाउन सबै निकायसँग समन्वय गरी तयारी अघि बढाएको जनाएको छ।








प्रतिक्रिया