काठमाडौं । आकर्षक तलबको लोभ देखाई युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला काठमाडौंमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने चितवन कालिका नगरपालिका–८ की सुजु प्रजा (२५) र नागार्जुन नगरपालिका–४ बस्ने रोजी गुरुङ (४२) रहेका छन्।
सुजुले युके पठाइदिन्छु भन्दै एक पीडितबाट २ लाख ६४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्। त्यस्तै, रोजीले साइप्रस पठाइदिन्छु भन्दै अर्को एक पीडितबाट ७ लाख रुपैयाँ उठाएको उजुरी परेको थियो।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुजुलाई काठमाडौं–२८ र रोजीलाई काठमाडौं–१५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।








प्रतिक्रिया