काठमाडौँ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन् । मन्त्री घिसिङले आज सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुरुआत गर्दै सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको बताएका छन् ।
“सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको छ, त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिनेछ, विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मत सेवा प्रवाह अझै प्रभावकारी बनाइने छ ।” उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक एम्बुलेन्स प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासो तत्काल सम्बोधन गर्नेे बताएका थिए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मतकार्य प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्नेमा बताए । एम्बुलेन्स प्रयोगबाट तीन सय ६५ दिन र चौबीसै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत गरी सहज आवागमन सुनिश्चित प्रदान गर्न सकिनेछ ।
सडक डिभिजन कार्यालय काठमाडौँको कार्यक्षेत्रमा पर्ने काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्न एम्बुलेन्स प्रयोगमा ल्याइने छ । सडकमा देखिएका खाल्डाखुल्डी तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
–––








प्रतिक्रिया