काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान सुरु गरेको छ।
समितिका अनुसार हाल गुह्वेश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ। बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती–मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभान गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राखिने छ।
यी ट्रास बेरियर जडानका लागि करिब ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर रोक्ने र निश्चित स्थानमा संकलन गर्ने काम गर्नेछ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलामा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ। ट्रास बेरियरले नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सक्ने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने समितिले जनाएको छ।
संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित व्यवस्थापन गर्ने योजना पनि रहेको छ। यसले नदीको सौन्दर्य वृद्धि, जलचर जीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया