९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलको छाया सेन्टरस्थित वाल्डो क्यासिनोमा अवैध जुवा खेलाउने भारतीय गिरोहका ६ जना पक्राउ



काठमाडौं । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी अवैध क्यासिनो सञ्चालनमा संलग्न ६ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महाजन ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’का सञ्चालक समेत रहेको खुलेको छ। उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत विभिन्न देशहरूमा क्यासिनो इभेन्टको नाममा अवैध रूपमा जुवा खेलाउँदै आएको पाइएको प्रहरीले जनाएको छ।

छापामारीका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ। साथै, अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न नेपाली नागरिकसमेत थप ७ जनाको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ‘बीपी एण्ड महाकाय ग्रुप’ अन्तर्गतका क्यासिनो प्लेयर्स मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए। उक्त इभेन्टमा अन्य ग्रुपहरू समेत संलग्न हुँदा जम्मा करिब २ सय जना भारतबाट नेपाल आएको खुलेको छ। जुवा खेल्न आउनेहरूको हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था गिरोहकै नाइकेले मिलाएको देखिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा जुवामा हुण्डीमार्फत आर्थिक कारोबार हुने गरेको तथ्यसमेत फेला परेको छ। अवैध जुवा खेलाउने गतिविधिले क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।