२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ८३ वर्षीय वृद्धको सुनको औँठीका लागि हत्या गरेका खुलासा



ललितपुर । ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोलमा डेरा गरेर बस्दै आएका ८३ वर्षीय गर्जमान थापा शनिबार मध्याह्नदेखि परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजतलास सुरु गर्‍यो । इलाम घर भएका थापा ललितपुरमा छोरा–बुहारीसँग बस्दै आएका थिए।

परिवारले निवेदन दिएपछि सुरु गरिएको खोजतलासका क्रममा सोमबार गर्जमान थापाको शव बोरामा पोको पारेर इनारमा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट गर्जमानको ग्वार्कोमा सञ्चालित एक फर्निचर कारखानामा काम गर्ने मजदुरहरूले हत्या गरी शव इनारमा फालेको खुलेको छ।

घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बिहार राज्यको मोतिहारी जिल्ला घर भएका २३ वर्षीय सद्दाम मन्सुरी, २२ वर्षीय युसुफ हवारी र २२ वर्षीय मोहमद नोमान रहेका छन्। उनीहरू तीनै जना ग्वार्कोस्थित एक फर्निचर कारखानामा मजदुरी गर्दै आएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार गर्जमानको औँलामा रहेको ३ आना सुनको औँठी लुट्ने उद्देश्यले हत्या गरिएको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ।

प्रहरीका अनुसार पुस २६ गते करिब १२ बजेतिर गर्जमान औँठी लगाएर फर्निचर कारखानामा पुगेका थिए। उनी यसअघि पनि प्रायः उक्त कारखानामा जाने गरेको खुलेको छ। अनुसन्धानमा संलग्न ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार फर्निचर कारखानामा कार्यरत सद्दाम मन्सुरीले गर्जमानको औँठीमा आँखा लगाएका थिए।

एसएसपी बोगटीले बताएअनुसार सद्दामले सुरुमा गर्जमानलाई मोबाइलमा फिल्म देखाएर अलमल्याएका थिए। त्यसपछि अन्य दुई जनाको सहयोगमा मुख छोपेर औँठी खोसिएको र चक्कु प्रयोग गरी घाँटीमा प्रहार गरेर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ। हत्या पश्चात् शवलाई बोरामा प्याक गरी रातिको समयमा इनारमा फालिएको प्रहरीले जनाएको छ।

प्रहरीले फर्निचर कारखानाबाट ३ आना सुनको औँठी र हत्यामा प्रयोग भएको चक्कु बरामद गरेको छ। बरामद गरिएको औँठीको हालको बजार मूल्य करिब ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सोही औँठीका लागि गर्जमान थापाको ज्यान लिएको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।