१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, १ करोड बढी बरामद



काठमाडौं । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् ।

उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले ४ जना पक्राउ परेको र थप जानकारी प्राप्त भइनसेको बताए ।

घ्याङलेख शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको छ । नकाबधारी तथा हतियारधारी ५–६ जनाको समूहले सो बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटी लगेकोमा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको हो ।

खोजतलासका क्रममा लुटेराले लगेको रकम जंगलबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।

राति करिब पौने ९ बजेतिर ५/६ जनाको समूहमा आएका लुटेराहरूले बैंकका गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनीहरूले बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेका थिए ।

लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाटा सुमो जिप र चालक भवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा लुटेराहरूको खोजी र घटनाको अनुसन्धान कार्य तीव्र पारिएको सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।