१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


माधवनारायण बर्तालुको तीर्थयात्रा : चाँगुनारायण पुगेर सम्पन्न



भक्तपुर
पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालिनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले चाँगुनारायणको मूल मन्दिरमा माधवनारायण राखेर विशेष पूजाआराधना गरी यस वर्षको तीर्थयात्रा सम्पन्न गरेका छन् । चाँगुनारायणको विशेष पूजा गरेसँगै यस वर्षको तीर्थयात्रा सम्पन्न भएको बर्तालुले बताएका हुन् ।
माघ शुक्ल एकादशीका दिन राति बर्तालु पैदल हिँडेर चाँगुनारायण पुगी बास बसेका र आज द्वादशीका दिन स्नान गरी चाँगुनारायणमा विशेष पूजा तथा आराधना गर्ने परम्पराअनुसार पूजाको विधि सम्पन्न गरिएको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिएका छन् ।
आज चाँगुनारायणमा विशेष पूजा सम्पन्न गरेपछि बर्तालु साँखु गएका बताउँदै उनले यसअघि पशुपतिबाट शेषनारायणसम्म र पनौती गरी दुईवटा तीर्थयात्रा सम्पन्न गरेका बताए । उनका अनुसार आज चाँगुनारायणको तीर्थयात्रा सम्पन्न गरेसँगै यस वर्षको तीर्थयात्रा सम्पन्न भएको छ ।
“तीर्थयात्रा सम्पन्न भएपछि माघ शुक्ल चतुर्दशीका दिन शङ्ख बजाउँदै पूर्णिमाका दिन गरिने पूजा तथा व्रत समापनका लागि भक्तजनलाई निमन्त्रणा गर्ने परम्परा छ । बज्रयोगिनी माइललगायत साँखु बजारबाहिर पनि सुनिने गरी व्रत समापनको निमन्त्रणा गर्ने प्राचीनकालदेखिको विधि हो”, पुजारी राजोपाध्यायले भने ।
आगामी आइतबार माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन (साङ्गे) गरिने जनाउँदै उहाँले यसलाई अश्वमेध यज्ञ भनिने बताएका छन् । उनका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुन्छ ।
माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास रहिआएको पुजारी राजोपाध्यायले बताए ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि माधवनरायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास रहँदै आएको छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे अर्थात् अश्वमेध यज्ञ गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको पूजा गर्ने परम्परा रहिआएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शुक्रबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।