२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण हटाउन माग



काठमाडौँ
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन् ।

धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना पनि खाली गराउन वर्षौंदेखि भक्तजनले माग गर्दै आएका छन् । मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले स्थान अभाव भई यहाँ हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहज हुँदै आएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएका कारण प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन लाग्ने मेलामा समस्या हुने गरेको छ ।

यसैगरी, आश्विन कृष्ण पक्ष अर्थात् पितृ पक्षमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा स्थान अभावकै कारण समस्या हुने गरेको छ । पौष कृष्ण औँसीमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएको वडाअध्यक्ष जयराम महतले राससलाई जानकारी दिएका छन् ।

मन्दिरमाथि करिब ६५० रोपनी जग्गाको सामुदायिक वन छ । यज्ञडोल ९जगडोल० सामुदायिक वनमा हाल राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण भइरहेको छ । मन्दिरसँगै जोडिएको सार्वजनिक जग्गामा बनेका १४ वटा घर पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । यो क्षेत्रलाई पहिलेदेखि नै व्यवस्थित बनाउन खोजे पनि हुन सकेको छैन ।

गोकर्णेश्वर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणसम्म पनि प्रस्ताव पुगेको थियो । प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीले मन्दिर क्षेत्रको जग्गामा बनेका घर भत्काएर सुन्दरीजल जाने सडक पनि सारेर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसबेला वडाले सहयोग नगरेका कारण काम हुन नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनःनिर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताएका छन् ।

मन्दिर क्षेत्रको जग्गामा घर बनाएकाको अन्यत्र पनि घर जग्गा रहेको वडा कार्यालयले जनाएको छ । अन्यत्र अतिक्रमित घर जग्गा खाली गराइरहेका बेला यहाँका संरचना पनि खाली गरिनुपर्ने स्थानीयवासी र मन्दिरमा दैनिक आउने भक्तजनको गुनासो छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।