२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलङ्कीदेखि धोबीखोलासम्मको सडक विस्तारको तयारी


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, काठमाडौँ । चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

त्यस्तैगरी सडक विस्तारका लागि झण्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ । त्यस्तै ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । त्यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी गराए ।खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता यसअगाडी नै भइसकेको छ ।

https://www.youtube.com/@lalitkhabar

उनले भने “पाइप सार्नकै लागि हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु २५ करोड विनियोजन गरिसकेका छौँ ।” सडकको अधिकार क्षेत्रमा नै स्वयम्भु नजिकै चैत्य रहेकामा सार्नुपर्ने देखिएको प्रमुख रिमालले बताए । सडकको केन्द्रबाट ३१ मिटर दायाँबायाँ अधिकार क्षेत्र रहेकामा सो चैत्य १७ दशमलव पाँच मिटर रहेको छ ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलङ्की सडकखण्डमा भन्दा यो सडकमा संरचना कम रहेका छन् । महाराजगञ्ज क्षेत्रमा मात्रै झण्डै ४० घर सडकको अधिकार क्षेत्रमा रहेकको प्रमुख रिमालले बताए । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौँ उयपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिइसकेको छ । उनले भने, “यस ठाउँमा बाहेक निजी घरको समस्या कम छ ।”

त्यस्तै कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक विस्तार गर्ने भएको छ । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन९डिपिआर० तयार गरिसकेको छ । पहिले साइट खाली गराएपछि चिनियाँ टोलीले काम शुरु गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको बताए ।

उनले भने, “विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।” कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन ।

सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको सडक विभागले जनाएको छ । विस्तार हुन लागेको सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

त्यस्तैगरी पहिलो चरणको विस्तारका क्रममा सडकमा रहेका कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताए । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएर यस सडकमा डिभाइडर राखिने भएको छ ।

उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ ।

महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए।

बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । पहिलो खण्डमा १० किमी सडकमा तीन मात्रै आकाशे पुल हुँदा पर्याप्त नभएको गुनासो आएकाले हाल प्रत्येक किमीमा एउटा आकाशेपुल निर्माण हुने भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।