१७ पुस ०७७, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् ।
चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले बताए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए ।
नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले बताए । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका छन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।
बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए ।
प्रतिक्रिया