
११ असोज ०७८, भक्तपुर । भक्तपुरका नेता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज सोमबार आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु चिन्ता विषय भएको बताएका हुन् ।
बिजुक्छेले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीलाई जानकार गराउनुपर्नेमा जोड दिँदै सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा लगाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बिजुक्छेले सांस्कृतिक गुरुहरू गोविन्द भुजू, विकुबहादुर दुवाल, विष्णुभक्त सुवाल, लक्ष्मीभक्त कुस्मा, लक्ष्मीप्रसाद मानन्धर, गणेशबहादुर त्वायना, मङ्गलाल ग्वाछा, लक्ष्मीभक्त घेमोसु, रामलाल माक, रत्नभक्त ध्वजू, विष्णु सुवाल, विष्णुभक्त सिजख्व, दिलबहादुर त्यात, इन्द्रबहादुर लाखा, बुद्धिसागर प्रजापति, रामभक्त गणेजु श्रेष्ठ, विष्णुभक्त कुसी, मानबहादुर चोलेखो, हरिभक्त मगजु र शिवभक्त वनमालासहित संस्कृतिक गुरुलाई रु १५ हजारसहित सम्मान गरे ।
कार्यक्रममा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरूको सम्मानलाई निरन्तरता दिँदै आएको बताएका थिए । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब अन्तिम चरणमा पुगिसकेको बताउँदै भक्तपुर नगरपालिकाप्रति जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक अगाडि बढ्न मद्दत पुगेको धारणा राखे ।
उनले भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्नाका साथै इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताए । उनले विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्ति फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, नपाका उपप्रमुख रजनी जोशी, संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, नगर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय सरकारले गरेको योगदानबारे चर्चा गरे । रासस







प्रतिक्रिया