
११ कात्तिक ०७८, बागलुङ । बडिगाड गाउँपालिका ९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन् । आज विहीबार बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो ।
लखेट्न खोजेपनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफै निस्केर मानिसहरु झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए । खोरबाट भगाउन जम्मा भएकामाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताएका छन् । “चितुवा एक्कासी हामी भएतिर आयो, म, दीपक केसीलगायतका साथीहरु भएर समात्यौँ”, पाइजाले बताए ।
चितुवासँग भिड्दा नङ्ग्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताए । उनले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गरे । अन्दाजी दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहबरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपकबहादुर श्रीस थापाले बताए ।







प्रतिक्रिया