२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


इन्द्रावतीमा बन्यो सुविधासम्पन्न १५ शैय्याको अस्पताल



सम्झना कार्की
२३ माघ ०७८, सिन्धुपाल्चोक । सामान्य स्वास्थ्य सेवा लिन लामो दूरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको भन्दै इन्द्रावतीका स्थानीय खुसी भएका छन् । २५ हजार ५ सय १८ जनसंख्या रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जम्मा १२ वटा वडा रहेका छन् ।
विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो । तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको भन्दै स्थानीय दंग देखिन्छन् ।
नवलपुर प्राथमिक अस्पतालमा सेवा लिन आएकी विमला अधिकारी भन्छिन्, ’ओपिडीमा गएर डाक्टरलाई भेटेँ । एक्सरे र रगत परीक्षण गर्न पाउँदा निकै खुसी छु । पहिले यही कामको लागि दिन धुलिखेल पुग्नुपर्थ्यो ।’
गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बागमती प्रदेश सरकारको सहयोगमा बनेको हो । नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निमार्ण सम्पन्न भई सेवा दिन सुरु गरेको भएको छ ।

आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सो अस्पतालको उद्घाटन गरेका छन् । मन्त्री लामाले अस्पतालको लागि आवश्यक जनशक्ति र उपकरणको लागि आफूले स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्थापन गर्दै जाने बताए ।
अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । प्राथमिक अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न एमडिजिपि डाक्टर ,प्रशासनिक कर्मचारीसहित २१ जना कर्मचारी आवश्यक पर्ने भन्दै सो को व्यवस्थापनमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताए ।
५ करोड ६० लाखमा ठेक्का लगाए पनि सो अस्पतालको भवन न्यु ड्रागन पवित्र मल्टिपल डेभिड कम्पनीले दुई वर्षमा ५ करोड ७८ लाख लागतमा निर्माण पुरा गरेको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए । ३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ ।
इन्द्रावती गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी तामाङ जनशक्ति र उपकरणमा स्वास्थ्य मन्त्रीले विशेष जोड दिएमा नागरिकले पाउने सेवा सुविधामा पहुँच पुग्ने बताउँछिन् । न्युज कारखाना

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : १६ बजे