२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ठेचाकोे नवदुर्गा मन्दिरमा ताल्चा मारेसँगै बाह्र बर्षे जात्रा सुरु




११ साउन ०७९, चापागाँउ । गोदावरी नगरपालिका १२ ठेचोमा नवदुर्गा भवानी देवीको मन्दिरको ढोकामा ताल्चा मारेसँग बाह्रबर्षे जात्रा सुरु भएको छ ।
हरेक बाह्रवर्षमा सो मेला गर्ने परम्पराअनुरुप गए रातिदेखि जात्रा सुरु हुने भएको हो ।
गएको रातिदेखि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा मारेसँगै मेला तथा जात्रा सुरु हुने भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताए । उनले भने, “योजात्रा आउँदो फाल्गुन–चैतमा मात्रै समाप्त हुनेछ ।” सो बन्द मन्दिरको ढोका अगाडि आजबाट पूजा गरी जात्रा मनाउँदै अघि बढिने भएको मालीले जानकारी दिए
सो जात्रामा परम्परागतरुपमा चल्दै आएको तान्त्रिक विधिअनुरुप पूजासमेत हुने गरेको नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए । उनले भने, “छिट्टै मन्दिर अगाडि छाप्रो बनाउन सुरु गरेर फूलपातीका दिन सुनाकोठीमा रहेको बालकुमारी मन्दिरमा होम गर्नका लागि दक्षिण ललितपुरमा रहेको कोञ्ज्योसोम गाउँपालिका ३ दलचोकीबाट काठ काटेर ल्याएर राख्ने कामसमेत गर्नेछाँै ।”
देवीलाई गुप्तवास राखेर हिजो मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुल्ला गरिने भएको मालीले बताए । सो दुर्गा भवानी ताल्चाभित्र गुप्तवास बस्ने भएकाले ठेचोवासीले पनि खुसियाली मनाउन हुँदैन भन्ने मान्यतानुरुप राति भएपछि घरबाहिरसमेत हिँड्न नहुने धार्मिक मान्यताको बुझाइ स्थानीयवासीमा छ । सो जात्राअन्तर्गत नवदुर्गा नाचसमेत मञ्चन गर्ने गरिन्छ ।
उक्त जात्रा लिच्छवीले पाटनमा किराँत वंशलाई पराजय गरेको इतिहासँग पनि जोडिएको देखिन्छ । भवानीको जात्रा सुरु भएसँगै सो क्षेत्रमा बाजा तथा घण्टी र सिट्ठी आदि बजाउन नहुने नियम रहेको स्थानीयवासी इना महर्जनले बताइन् ।
उनले भनिन्, “यहाँ जात्रा सुरु भएसँगै कसैको घरमा पाहुना बोलाएर बास बसाउनुसमेत हुँदैन भन्ने चलनसमेत रहेको छ ।” मन्दिरको ढोकामा ताल्चा मार्नुअघि आफूहरुले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियम पालना गर्न ठेचोवासीलाई अनुरोध गरिने भएको अध्यक्ष मालीले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।