२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बढ्न थाल्यो कोभिड सङ्क्रमण, हेलचेक्य्राइँ नगर्न आग्रह



काठमाडौं, १६ चैत । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । बुधबार ३४ जनामा सङ्क्रमण देखिएको थियो । आइतवार १६ जना, सोमवार ६९ जना र मङ्गलवार २४ जनामा सङ्क्रमण पुष्टि भएको र अहिले देशभर कोरोनाका १ सय ३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

धेरैजसो अझै परीक्षणभन्दा बाहिर रहेकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने आकलन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए । उनका अनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेसँगै नेपालमा पनि सङ्क्रमित बढेका हुन् ।
अहिले मौसम परिवर्तनसँगै प्रदूषणका कारण घाँटी दुख्ने, ज्वरो आउने तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन् । यस्ता लक्षण भएका कतिपयलाई कोरोनाको सङ्क्रमण भएको पाइएको छ । घाँटी दुखे, ज्वरो र रुघाखोकीसँगै स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिए परीक्षण गराउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीको आग्रह छ ।

कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै धेरैजसोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडेका छन् । यसले गर्दा सङ्क्रमण फैलिने जोखिम उच्च छ । सङ्क्रमण फैलिरहेको यो अवस्थालाई सामान्य रुपमा नलिन पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ । कोरोना भाइरसको जोखिम फेरि बढेसँगै मन्त्रालयले समुदायमा निगरानी बढाएको छ ।

यस्तै, परीक्षणलाई पनि जोड दिएको छ । जोखिम वर्गलाई कोरोना विरुद्धको बुस्टर डोज पनि दिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका, ५५ वर्ष नाघेका र अग्रपङ्क्तिमा खटिएकाहरुलाई बुस्टर डोज दिन थालेको डाक्टर अधिकारीले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।