२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा विप्लव समूह मध्यपश्चिम ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द सहित २१ जनाविरुद्ध मुद्दा


२ कार्तिक २०७६, शनिबार  

0
Shares

२ कार्तिक २०७६ दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता कार्यकर्ताविरुद्ध जिल्ला अदालत दाङमा शुक्रवार प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको छ ।

नेपाल–भारत नाका क्षेत्रमा पर्ने राजपुर गाउँपालिका ४ को अति विकट मानिने मुङ्रेटाखोला नजिकबाट पक्राउ परेकाहरुमा नेकपा विप्लव समूह मध्यपश्चिम ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्ददेखि रोल्पा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदीसम्म रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता विनोदविक्रम शाहले राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् । सरकारद्वारा नेकपा विप्लव समूहकोराप्ती ब्यूरोको बैठकस्थल नै प्रहरीले बुधबार राति १ बजेतिर नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमध्ये विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सबैभन्दा ठूला नेता हुन् । उनी विप्लवको दाइमात्रै नभएर केन्द्रीय सदस्य र मध्यपश्चिम कमाण्डका इञ्चार्ज समेत हुन् । उनी नेकपाभित्र टप ५ भित्र पर्ने नेता भएको बताइएको छ । यता, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेता तथा तत्कालीन जिल्ला विकास समिति रोल्पका सभापति झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि पक्राउ परेका छन् । सुवेदी राप्ती व्यूरो सदस्य तथा रोल्पा जिल्ला इञ्चार्ज रहेको बताइएको छ । त्यस्तै, अर्का केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इञ्चार्ज केशबहादुर बाँठामगर ‘सुभास’लाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी ‘पाटन’, नेकपाका राप्ती ब्यूरो सदस्य तथा न्याय विभागका संयोजक रामबहादुर थापा, दाङ इञ्चार्ज यमलाल कटुवाल ‘विक्रम’ दाङ सेक्रेटरी प्रदीप वली, सल्यान जिल्ला इञ्चार्ज डिल्लीराज शर्मा, पश्चिम रुकुमका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, विशेष जिल्ला सेक्रेटरी पुष्टमान घर्ती, विशेष जिल्ला इञ्चार्ज दलबहादुर खत्री, राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेल, थवाङ स्वायत्त क्षेत्रका इञ्चार्ज हितप्रसाद रोका र सेक्रेटरी अमृत घर्तीमगर रहेका छन् । त्यस्तै, अखिल नेपाल किसान संघ दाङका अध्यक्ष एकराज चौधरी, दलित मुक्तिमोर्चा दाङका अध्यक्ष सुरज परियार, फ्याक्सन इञ्चार्ज तथा युवा संगठनका केन्द्रीय सदस्य तिलक पुन, दाङको राजपुर गाउँपालिका इञ्चार्ज धनबहादुर बोहरा, पदीय हैसियत नखुलेकाहरु क्रमशः विष्णुबहादुर रावत, कुलबहादुर वली र इन्द्रबहादुर वलीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेकपाका नेता तथा कार्यकर्ताहरुबाट विभिन्न हतियारसमेत बरामद गरेको दावी गरेको छ । मेड इन युएसए लेखिएका दुई÷दुई राउण्ड गोली लोड भएका २ थान पेस्तोल, ४ थान कटुवा पेस्तोल, ५ राउण्ड राइफलको गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ । बैठकस्थलबाट १ सुतली बम, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएका तीनवटा दस्तावेज, आर्थिक सहयोग माग गर्न तयार पारिएका ३० पाना लेटर प्याड, नेपाल कम्युनिष्ट पार्टी लेखिएको परिचयपत्र र विज्ञप्ति लेखिएका ६ ठेली पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न राजनीतिक दर्शन लेखिएका १३ वटा किताव, केही नगद रकम तथा नेकपाको छाप एक थान लगायतका बन्दोवस्तीका सामानहरु प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १२ : ३२ बजे