लपु संवाददाता
१७ चैत्र ०७५,इलाननी पाटन । पाटनका कालिगढका अनुसार अहिले हस्तकला व्यावसाय गम्भिर संकटमा परेको छ । भारत,चीन र युरोपियन देशहरुमा विक्रि हुने हस्तकलाको व्यापार अहिलेसम्मकै न्युन छ ।
पाटन इलाननीका विजय शाक्यलाई आजकल वर्कशपमा मूर्ति बनाउने जागर छैन । ‘बनाएका मूर्ति राख्ने ठाँउ छैन । कति बनाउनु विक्ने होइन ।’उनी दुखेसो पोख्छन् । ‘नाकाबन्दी अघिसम्म उनको व्यापार ठिकठाक नै चल्दैथियो । त्यसपछि एक्कासी व्यापार खस्कियो ।’ उनी भन्छन् । उनलाई तातोपानीस्थित चीनको नाका नखुल्दा व्यापार घटेको जस्तो लाग्छ । उनको मत छ–हस्तकलाको व्यापार घट्नुको कारण यो एउटा मात्रै होइन ।
इलाननीकै सिदार्थ शाक्यको व्यापार पनि आजकल चौपट छ । उनी भन्छन्,‘समस्या बजारको हो । नेपाली हस्तकलाले विदेशी सामानसँग प्रतिश्पर्धा गर्न नसकेन ।’ भारत र चीनमा बन्ने सामानमा मिसावट छ । र सस्तो पनि भएको उनको तर्क छ ।
शाक्यले बनाउने चाँदी गहना हो । जुन युरोपियन बजारमा जान्छ ।‘युरोपियनले हाम्रो सामानमा मिसावट भएको सम्झेर किन्न छोडे ।’ उनी भन्छन् ।
राजु शाक्यको तर्क भने अलि फरक छ । ‘हस्तकलाका सामान आजकल मेसिनले पनि बन्न थाल्यो । यसले बजार भाँडिरहेको छ ।’ उनी भन्छन् ।
रोजन शाक्यशाक्यकै तर्क मान्ने हो भने हस्तकलामा चाइनीज प्रभाव बढ्दो छ । आजकल आफूलाई चाहिने हस्तकलाको सामान चीन आफैले बनाइरहेको शाक्यको बुझाई छ ।
रोजन शाक्यको वर्कशपमा भुकम्पपछि २० जना कर्मचारी काम गर्थे । अहिले घटेर १० जना भए तर पनि काम दिन मुस्किल छ । शाक्य भन्छन्, ‘हस्तकलाको रुचि संसारमै घटेको छ । नेपालमै हस्तकलाको सामान किन्ने चलन पनि कम भएको छ ।’
हस्तकला व्यावसायी ज्ञानी शाक्यका अनुसार नेपालमा पर्यटक आए पनि हस्तकलाको सामान किन्नेहरु घटेका छन् । उनी भन्छन्,‘आजकल हरेक ठाँउमा मूर्ति बन्नु पनि समस्या हो ।’
हस्तकला क्षेत्रको समस्या समाधान गर्न सरकारले कुनै सहयोग नगरेको उनको आरोप छ । नेपालमा चीनियाहरुले नै हस्तकलाको काम गर्न थालेको तर सरकारले नरोकेका व्यावसायीहरु गुनासो गर्दछन् ।
स्थानीय कालिगढका अनुसार पाटनका हस्ताकलामा काम गर्ने धेरै कालिगढले पसल छोडिसके । पाटनका आउने व्यापारी पर्यटकहरु नै उनीहरुका ग्राहक हुन् ।
प्रतिक्रिया