लपु संवाददाता
२८ जेष्ठ ०७६, काठमाडौं । वातावरण तथा दिगोपना सम्बन्धि वैश्विक सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । २२–२४ नोभेम्बर २०२० मा आयोजना हुने कार्यक्रममा विश्वका ख्याति प्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेताहरु सहभागी हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक रेजिना मास्के बेन्जूले त्रिभुवन विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्व विद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय, वायो मिङ्ग विश्वविद्यालयको सहकार्यमा सम्मेलन हुन लागेको र सम्मेलनमा साँढे तीन सय ख्याति प्राप्त वैज्ञानिक सहभागी हुने बताइन् ।
‘‘वातावरण तथा दिगोपना’’ सम्बन्धि वैश्विक सम्मेलन वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीति विषयमा केन्द्रित हुनेछ । कार्यक्रममा प्रस्तुत कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित हुनेछ ।
जलवायु परिवर्तनले प्राणीको जीवन नै संकटमा परेको विषय प्रकाशमा आइरहँदा वातावरण सम्बन्धि वैश्विक सम्मेलन नेपाल माहुनुलाई अर्थपूर्ण मानिएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइरहँदा नेपाल वातावरणका अध्ययनकर्ताहरुक ालागि अध्ययनको विषय बनेको छ ।
पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले सँसारका दिग्गज वैज्ञानिकहरु सहभागी हुने सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताए । उनले जलवायु परिवर्तनले नेपालमा मात्र नभई सँसारमै नकारात्मक असर परिरहेकाले यसबारे थप अध्ययन अनुसन्धान र बहस जरुरी रहेको बताए ।
उनले उक्त सम्मेलन वातावरणसम्बन्धी अध्ययन अध्यापन गर्ने नेपालीहरुको लागि पनि कोशढुंगा सावित हुने बताए । खनियाँले भने,‘हाम्रा वैज्ञानिकहरु संसारभरिका ख्याँति प्राप्त वैज्ञानिकहरुसँग जोडिन पाउनु गर्वको विषय हो । संसारभर विज्ञ वैज्ञानिकहरु यो सम्मेलनमा भाग लिन आउँदै हुनुहुन्छ । हाम्रा वैज्ञानिक र विद्यार्थीहरुको लागि पनि यो सम्मेलन सिक्ने मौका हो ।’
क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक मोहनबहादुर डाँगीले वातावरणबारे अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि नेपाल चासोको क्षेत्र भएको बताए । सगरमाथाको मुलुक भएकाले नेपाल शोधकर्ताहरुका लागि जलवायु परिवर्तनबारे अध्ययनको उपयुक्त क्षेत्र हुनुले पनि वैश्विक सम्मेलन काठमाडौंमा हुन लागेको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा वैश्विक सम्मेलनमा साँढे तीन सय वैज्ञानिकहरु सहभागी हुँदा विश्वभर सकारात्मक सन्देश जाने बताए । जोन्स होपकिन्स विश्व विद्यालयका प्राध्यापक रोनाल्ड कोहेनले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया