४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद खुल्छः सत्तापक्ष, खुल्दैनः विपक्षी


२० श्रावण २०७६, सोमबार  

0
Shares

१९ साउन ०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सोमबार संसद खुल्ने बताएका छन् । तर कांग्रेसकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु नहुने स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’
राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिए । उनले भने,‘संसव अवरोध गर्ने हाम्रो ईच्छा होईन । हामीले यो चाहेको छैन् ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले सदन खोल्नको लागि वार्ता गर्नुपर्ने धारणा राखे । उनले भने,‘संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।’ उनले सर्लाहीका तीन वटा घट्नालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘असार ५ गते घट्नाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घट्नामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भैसकेको छ ।
भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताईन् । उनले भनिन्,‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं ।
कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारप्रति कडा आपत्ति जनाए । उनले भने,‘सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन् । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन् । यो त निकृष्ट काम हो ।’

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : ५१ बजे