३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली डाक्टरले गरे प्रधानमन्त्रीलाई विदेश जाने सिफारिस


५ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडौं, ५ भदौ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले उपचारका लागि सिंगापुर जान सिफारिस गरेको वताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो नभएको जिकिर गरे ।
प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।
कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नु भएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’
बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ ।
डा. काफ्लेको मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय थियो । उनले भने,‘देश डुबाउनेगरि खर्च हुँदैन् । यो खर्चिलो उपचार होईन ।’ यद्धपी उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई निःशुल्क डाईलाईसको सुविधा दिलाउने कामको जसपनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए ।
डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपण पनि हुन सक्ने काफ्लेको तर्क बताए ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जनताले जानकारी पाउनुपर्छ ः अध्यक्ष डा. श्रेष्ठ
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने,‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’
श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे । विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतीलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ७ : ५० बजे