६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गर्भकै शिशुको मोलमोलाइ र बेचविखन


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं ।

मानव बेचविखनको स्वरुपमा पछिल्लो समय निकै बदलाव देखिँदै छ ।

विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो ।

तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ ।

रोहिणी । डेढ महिनाकी अवोध बालिकालाई के थाहा उनी बेचिएकी थिइन् भनेर । त्यो पनि गर्भमै ।

१४ वर्षको उमेरमै कसैसँग प्रेममा परेपछि एक किशोरीले उनलाई जन्माएकी हुन् । तर, उनी प्रेमको निशानी बन्न सकिनन् । किनकि, जुन सम्बन्धपछि उनी जन्मदै थिइन्, त्यो सामाजिकरुपले वैध थिएन ।

प्रेम गरेको अभिनय गर्ने युवकले गर्भवती बनाएर फरार भएपछि किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन् ।

बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षितरुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि, पुर्‍याए काठमाडौं, कलंकीको सन्जीवनी बर्थ सेन्टरमा ।

त्यहीँ गत साउन १२ गते रोहिणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहिणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए ।

स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघनकक्षमा भर्ना गरेको थियो ।

२३ दिनसम्म कान्तिमै राखिएपछि रोहिणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रकोे जिम्मा लगाइयो ।

अहिले उनलाई ललितपुरको धोवीघाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

बाल उत्थान समाजमै उनको न्वारन गरेर रोहिणी नाम राखिएको हो । नवजात शिशु भएको र स्याहार गर्ने व्यक्तिको पनि अभाव भएकाले सुरुमा त बालगृहले राख्न आनाकानी गरेको थियो ।

बालगृहकी सन्चालिका सावित्री पोखेरेलले आफूले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जानकारी दिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बालिकाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ ।

बालिका बेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १५ बजे